काठमाडौं– धादिङको बांगेमोडमा यात्रुबस दुर्घटनामा ३१ जनाको मृत्यु भएको ४८ घन्टा नबित्दै सोमबार उदयपुर र गुल्मीमा भएको दुई दुर्घटनामा १५ जनाको मृत्यु भयो । सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्ने कामलाई प्राथमिकता नदिँदा दैनिकजसो दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहेको छ।
ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक अनुसार नेपालमा औंसतमा दैनिक ६ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । दुर्घटनामा हुने मृत्युको संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले पनि देखाउँछ।
आर्थिक वर्ष २०७०/७१ मा सडक दुर्घटनामा १७ सय ८७ जनाको मृत्यु भएको थियो । एक वर्षपछि उक्त संख्या बढेर आर्थिक वर्ष ०७१/७२ मा २ हजार ४ पुग्यो । यस्तै, आर्थिक वर्ष ०७२/७३ मा २००६, ०७३/७४ मा २२ सय ५० जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षमा यो संख्या थप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ।
दुर्घटना न्यूनीकरणका लागि सरकारले चासो नदिँदा दुर्घटनाको दर बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका पूर्व प्रमुख डिआइजी केशव अधिकारी बताउँछन्।
‘दुर्घटना न्यूनीकरणका लागि सरकारले पटक–पटक समिति बनाउँदै सुझाव संकलन गर्ने मात्र काम ग¥यो’, उनले भने, ‘यदि ती सुझाव कार्यान्वयनमा ल्याएको भए दुर्घटनाको दर ७० प्रतिशतभन्दा कम हुन्थ्यो।’
सरकारले पछिल्लो चार वर्षको अवधिमा हरेक ठूला दुर्घटनापछि समिति बनाउँदै सुझाव संकलन गरेर थन्क्याउने गरेको छ । चार वर्षको अवधिमा बनेका एक दर्जन समितिले दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि उस्तै सुझाव दिएका छन्।
नेपाल लाइभले सवारीसाधनको दुर्घटना पश्चात् गठित छानविन समितिहरुको प्रतिवेदन, दुर्घटना पश्चात् तयार गरिने प्रहरी प्रतिवेदन, स्वतन्त्र संस्थाहरुबाट भएको अध्ययन प्रतिवेदन लगायतका आधारमा सडक दुर्घटनाका ५८ कारण संकलन गरेर यहाँ प्रस्तुत गरेको छ । दुर्घटनाका कारणलाई मुख्य रुपमा मानवीय, सवारी साधनको अवस्था तथा यान्त्रिक, सडक सम्बन्धी र संस्थागत एवं अनुगमनसँग सम्बन्धित गरी चार भागमा छुट्याइएको छ।
यस्ता छन् सडक दुर्घटनाका ५८ कारणः
(क) मानवीय कारणः
अ. सवारी चालकको कारणबाट हुने दुर्घटना
– ट्राफिक नियमको परिपालना एवं सडक सुरक्षाप्रति उदासीन व्यवहार
– लापरवाही गरेर सवारी चलाउने प्रवृत्ति
– तीव्र गतिमा सवारी चलाउने आकांक्षा
– ओभरटेक गर्ने कार्यप्रति उत्साहित मनोवृत्ति एवं गलत तरिकाको प्रयोग
– सडक लेन पालनाप्रति उपेक्षा
– मादक पदार्थ एवं नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउनु
– मानसिक तनाव एवं थकानको अवस्थामा सवारी सञ्चालन गर्नुपर्ने बाध्यता
– सवारी चलाउँदै मोबाइल फोनको प्रयोग गर्ने प्रवृत्ति
– चालकबीच अस्वस्थ प्रतिष्पर्धा
आ. यात्री, पैदलयात्री तथा सर्वसाधारणको व्यवहार
– आफूलाई पायक पर्ने स्थानबाट सडक पार गर्ने प्रवृत्ति
– सडकको प्रयोग एवं उपयोगिताको सम्बन्धमा न्यून ज्ञान हुनु
- सडक तथा सडक किनारामा बिस्कुन सुकाउने, खेल खेल्ने खेलाउने प्रवृत्ति
- सडक तथा सडक किनारमा पशुपन्छी तथा चौपाया छाडा छाड्ने प्रवृत्ति
- सडक अतिक्रमण गरी फुटपाथमा व्यापार गर्ने र मेला तथा सडक नाटक देखाउने प्रवृत्ति
- राजमार्ग एवं सडक किनाराहरुमा सम्भव भएसम्म होटल तथा व्यापारिक कार्य सञ्चालन गर्ने प्रवृत्ति
- सडक तथा सडक किनारामा निर्माण सामग्री तथा फोहोरमैला थुपार्ने प्रवृत्ति ।
– ट्राफिक नियमको परिपालना एवं सुरक्षित यात्राप्रति उदासीन
– सडक सुरक्षाप्रति उदासीसनता
– सवारीसाधनमा जथाभावी चढ्ने र ओर्लने प्रवृत्ति
– सवारीसाधनको छतमा बसेर यात्रा गर्ने रहर एवं बाध्यता
– जसरी पनि छिटो र समयमै गन्तव्यमा पुग्ने अभिलाषा
– आफूले प्रयोग गरेको यातायात साधनमा देखिएको चालकीय कमजोरीको सूचना सम्बन्धित निकायमा नदिने प्रवृत्ति
– ट्राफिक व्यवस्थापनसँग सम्बन्धित निकाय, पदाधिकारीलाई तत्काल घटना लुकाउने प्रवृत्ति।
(ख) सवारी साधनको अवस्था तथा यान्त्रिक कारणः
– सवारी साधनको नियमित मर्मत सम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति
– निश्चित समयसीमापछि सवारी साधन विस्थपित नगर्ने प्रवृत्ति
– सामान्य बिग्रेको सवारीसाधनको मर्मत नगरी जबर्जस्ती चलाउने मनोवृत्ति
– सवारी साधनमा मुढा लगायतका कृत्रिम÷अस्थायी सीट राखी सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति
– सकभर गुणस्तरीय लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सको प्रयोग नगर्ने प्रवृत्ति
– सवारीसाधन मर्मतको उचित तथा गुणस्तरीय वर्कसपको कमी
– सवारीसाधन मर्मतका लागि दक्ष तथा क्षमतायुक्त प्राविधिक जनशक्तिको कमी
– सवारीसाधनको मर्मत एवं सुधारमा गुणस्तरीय सामानको न्यून प्रयोग।
(ग) सडकसम्बन्धी कारणः
– सडकको निर्माण तथा मर्मत सुधारका क्रममा विशेषतः स्थानीय निकायहरुबाट ‘सडक निर्माण मापदण्ड’ को पूर्ण परिपालना नगरिनु
- सार्प बेन्ड, ब्लाइन्ड स्पेस र ब्लाक स्पटहरु मापदण्ड अनुरुप नहुनु ।
- प्राविधिक रुपमा अध्ययन नगरी सडक निर्माणमा तीव्रता दिनु ।
- सार्प स्लोप/उच्च ग्रेडियन्टयुक्त सडक निर्माण गरिनु ।
– सडकको नियमित मर्मत सुधार समयमै हुन नसक्नु
- समयमै सडकका खाल्डाखुल्डी नपुरिनु
- चिप्लो र ओसिलो सडकमा थप सुधार कार्य नगरिनु
- पहिरो पन्छाउँदा सवारीसाधन पार गराउने मनसाय मात्र केन्द्रित हुनु
– सडक निर्माणका समयमा सडकको अवस्था झल्काउने पर्याप्त ट्राफिक संकेत तथा चिह्नहरुको प्रयोग नगरिनु
– स्थानीय निकायहरुले डोजर निर्मित (नन इञ्जिनियर्ड) सडक निर्माणलाई प्राथमिकता दिनु
– रात्रि यातायात सञ्चालन हुने सडकहरुमा क्याट आइको पर्याप्त प्रयोग हुन नसक्नु
– सडकको लेन मार्किङ पर्याप्त र गुणस्तर हुन नसक्नु
– सडक छेउमा निर्माण गरिएका नालीहरु अनावश्यक चौडा र खुला छाडिनु
– सडक किनारामा व्यापारिक प्रयोजनका लागि उत्तेजनायुक्त र भड्किला किसिमका विज्ञापनसँग सम्बन्धित होर्डिङ बोर्डहरुको प्रयोग
– सडकमा आवश्यकता अनुसार गति सीमित संकेत चिह्नहरुको प्रयोग नहुनु
– सेफ्टी बेरियर पर्याप्त र गुणस्तरीय नहुनु
– भइरहेको सडकको गुणस्तर सुधारभन्दा नयाँ सडक निर्माणमा विशेष जोड दिने प्रवृत्ति
(घ) संस्थागत एवं अनुगमनसँग सम्बन्धित कारणहरु
– सडक सुरक्षा काउन्सिलको गठन हुन नसक्नु
– सार्वजनिक यातायात व्यवस्थापन एवं सडक सुरक्षाको लागि पर्याप्त बजेट विनियोजन हुन नसक्नु ।
– सडक सुरक्षाको संस्थागत संरचना बलियो नहुनु
– सार्वजनिक यातायात व्यवस्थापन एवं अनुगमनसँग सम्बन्धित निकायको व्यवस्थापकीय एवं प्राविधिक क्षमता कमजोर रहनु
– सरोकारवाला निकायबीच समन्वयका लागि संस्थागन संयन्त्रको अभाव
– उपभोक्ताहरु आफ्नो अधिकारका लागि सक्रिय र संगठित हुन नसक्नु
– सेवा प्रदायकहरुमा प्रतिस्पर्धात्मक रुपबाट गुणस्तरीय सेवा प्रदान गर्ने भावना नहुनु
– यातायात व्यवसायीहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास हुन नसक्नु
– सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्थाको कमी
– रुट अनुमति प्रक्रिया समयसापेक्ष र व्यावहारिक हुन नसक्नु।
यो पनि पढौं :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।