काठमाडौं– भूकम्पबाट हुने सम्भावित क्षति व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय पुँजीबजारमा ‘क्याटास्ट्रोफी बन्ड’ (क्याट बन्ड) जारी गर्ने तयारी गरेको छ।
विश्व बैंकसँगको सहकार्यमा अघि बढाइएको योजनाअन्तर्गत भूकम्पको जोखिम हस्तान्तरण गरी विपद्पछि तत्काल वित्तीय स्रोत जुटाउने व्यवस्था गर्न लागिएको हो।
थाइल्यान्डको बैंककमा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यामिलियरबीच यससम्बन्धी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रस्तावित योजनामा भूकम्पको जोखिमअनुसार ८ करोडदेखि १९ करोड अमेरिकी डलर (करिब १२ देखि २९ अर्ब रुपैयाँ) सम्मको वित्तीय सुरक्षा उपलब्ध गराउने ढाँचा तयार पारिँदै छ। सम्झौता कार्यान्वयन भए नेपाल यस्तो बन्ड प्रयोग गर्ने दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ।
क्याट बन्डमा तोकिएको मापदण्डको भूकम्प गए लगानीकर्ताको रकमबाट नेपालले क्षतिपूर्ति पाउँछ। यसले विपद्पछि थप ऋण नलिई राहत तथा पुनर्निर्माणका लागि केही हप्ताभित्रै रकम उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।