काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले बेरुजू आउन नदिनेगरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन्।
बुधबार पोखराको लेकसाइडमा आयोजित शासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताए।
गण्डकी, बागमती र लुम्बिनी प्रदेशका खानेपानी हेर्ने कार्यालयसहितको कार्यशालामा उनले भने, 'बेरुजू आउन नदिन हामी सबै मिलेर काम गर्नु पर्छ। त्यसका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक छ।'
यसैगरी उनले उत्पन्न बेरुजूलाई यथासीघ्र फर्स्यौट गर्नुपर्नेमा जोड दिए । 'असुल उपर गर्नु पर्ने बेरुजूलाई कठोर ढङ्गले लाग्न जरुरी छ। अब बेरुजू नै नआउन दिनेगरी काम गर्नुपर्छ,' उनले भने।
सरकारको १६ औं योजनाले लिएको लक्ष पूरा गर्नलाई संघ र प्रदेशको उत्तिकै भूमिका रहेकाले खानेपानीका आयोजना छनोट गर्दा दोहोरोपन नहुनेगरी छनोट गर्नसमेत मन्त्री यादवले आग्रह गरे।
'संघ र प्रदेशबाट आयोजना कार्यान्वयन गर्दा विद्यालयहरू र स्वास्थ्य संस्थाहरू लगायतमा अनिवार्य रूपमा खानेपानीको पहुँच पुर्याउनु पर्नेछ। आयोजना छनोट गर्दा दोहोरोपना हुनुहुँदैन,' उनले भने।
मन्त्री यादवले वित्तीय अनुशासन, पारदर्शिता, र प्रभावकारी बजेट व्यवस्थापन कुनै पनि संस्थाको सुशासनका आधारभूत तत्व भएका बताए।
'महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार, नेपालमा बेरुजू फर्छ्यौट गति अपेक्षाकृत सुधार हुन सकेको छैन। खानेपानी मन्त्रालय अन्तर्गतका परियोजनाहरूमा पनि वित्तीय व्यवस्थापनमा देखिएका केही चुनौतीहरूका कारण खर्च असङ्गति (बेरुजू) न्यूनीकरण गर्न आवश्यक छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।