काठमाडौं– प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले चिकित्सा शिक्षा आयोगमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने प्रस्ताव आएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको आयोगको बैठकमा विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने जनाएपछि आयोगको यसअघिको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको संख्या बढाउने प्रस्ताव आएको हो।
यसबारे छिट्टै बस्ने आयोगको बैठकमा प्रस्ताव आउनेछ। हालसम्म मेडिकल कलेजले १० प्रतिशतको संख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध रहेको छ।
यसअघि २५ माघमा बसेको आयोगको १६ औं बैठकले आवासीय चिकित्सक (विद्यार्थी)हरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह) अनुसार मासिक ४८ हजार ४३६ निर्वाह भत्ता उपलब्ध गर्नुपर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्रीको नेतृत्व रहने आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट संख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरू गर्दै आएको छ।
आयोगको आजको बैठकले स्नातकोत्तर तहमा २०९ सिट संख्या थप गर्ने निर्णय गरेको छ। यस्तै, नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ। बैठकमा शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।