काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक लिपिङ खोलामा बगेको बेलिब्रिज पुनः जडान भएको छ।
पछिल्लो समय नेपाली सेनाको प्राविधिक सहयोगमा एक साता अगाडिदेखि बेलिब्रिज राख्न सुरु गरिएको थियो।
अहिले नेपालतर्फ बेलिब्रिज राख्ने काम भइरहेको र चीनतर्फ समेत काम भइरहेकाले तातोपानी नाकामा नियमित यातायात सूचारु हुन सकेको छैन।
नेपाली सेनाका अनुसार त्यहाँ २० माघदेखि बेलिब्रिज जडान सुरु गरिएको थियो। ४५.७२ मिटर लम्बाइको बेलिब्रिज जडान गरिएको हो। यसको भारबहन क्षमता २८ टन बराबर छ।
बेलिब्रिज जडान २७ माघका दिन सम्पन्न भएको हो। सोमबार यो पुल सेनाले सडक डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको छ।
गएको अशोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले मोटरेबल पुल र बेलिब्रिज बगाएको थियो। लार्चामा त्यतिबेलै ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
सडक डिभिजन कार्यालयका अनुसार आउँदो वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना बन्देउदेखि चीन सिमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नतिको काम सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।