जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा दर्ता बिना सञ्चालनमा रहेका जनकपुरधामका थप दुई अस्पताल बन्द भएको छ।
मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरधाम उपमहानगरपालिका ९ रामानन्द चौकस्थित अरमान हस्पिटल र जनकपुरधामकै बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर बन्द भएको हो। यी दुबै अस्पताल कुनै निकायमा दर्ता नरहेपनि लामो समयदेखि सञ्चालनमा थियो।
मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशन गराएकी सर्लाहीकी एक महिलाको २० दिनसम्म होस् खुलेनन्। उनको अप्रेशनमा डाक्टरले लापरबाही गरेको विषय बाहिरिएपछि मुख्यमन्त्री सिंह शुक्रवार दुई पटक निरीक्षण गरे।
निरीक्षणका क्रममा अस्पताल कुनै निकायमा दर्ता नरहेको र अन्य मापदण्ड पनि पालना नगरेको पाइएपछि तत्कालै बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिए। निर्देशन अनुसार अस्पताल प्रशासनले उपचाररत विरामीहरुलाई अन्यत्र सारे र अस्पताल बन्द गरी साँचो मुख्यमन्त्रीलाई बुझाए।
जनकपुरधाममा अधिकांश अस्पताल दर्ता बिना सञ्चालनमा रहेको र मापदण्ड समेत पालना नगरेको गुनासोपछि मुख्यमन्त्री सिंह शनिवार २० अस्पतालमा निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा विएन हस्पिटल एण्ड रिसर्च सेन्टर र अरमान हस्पिटल पनि दर्ता नरहेको खुलेपछि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिए। उनको निर्देशनपछि आजदेखि अस्पतालमा सञ्चालकले स्वयंम ताला लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।