काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक निर्माणमा लागत अनुमानअनुसार काम नगरी नक्कली बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नवीनकुमार बीसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख मदनप्रकाश मल्लविरुद्ध १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
त्यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष हिमबहादुर वली, उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्दबहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीविरुद्ध पनि १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यसैगरी अनुगमन समितिका संयोजक इन्द्रजीत बीसी, सदस्य हस्ता बीसी, सदस्य विजयबहादुर वलीलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले जानकारी दिएका छन् ।
सडक निर्माण योजनामा निर्माण व्यवसायीलाई जिम्मा दिने गरी योजना राखी उपभोक्ता समिति खडा गरी नक्कली कागजात बनाएर भुक्तानी गरिएको पाइएको आयोगको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।