काठमाडौं– मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको चाकुपाटस्थित निवासमा उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
१९९३ साउन १० गते काठमाडौंको प्याफलमा जन्मिएका उनी सरकारी सेवासँगै अध्ययन र अनुसन्धानमा सक्रिय थिए। जुम्लामा लामो समय बसेर उनले अध्ययन अनुसन्धान गरेका थिए ।
श्रेष्ठसहितको टोलीले कर्णालीको स्थलगत अध्ययनपछि 'कर्णाली लोक संस्कृति' पुस्तक सार्वजनिक गरेको थियो । पुस्तकले २०२८ सालको मदन पुरस्कार पाएको थियो । श्रेष्ठसँगै संस्कृतिविद्हरू सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, चूडामणि बन्धु र प्रदीप रिमालले पाँच खण्डमा पुस्तक लेखेका थिए । पाँचै जनालाई संयुक्त रूपमा मदन पुरस्कार दिइएको थियो ।
जुम्लाको मल्लेरुकालीन जचौरी कुलो र जुम्लाका हाडसिंजाका बासिन्दाका निम्ति इष्ट सम्बन्ध सामाजिक सम्बन्धजस्तै महत्त्वपूर्ण रहेको तथ्य पनि श्रेष्ठले उजागर गरेका थिए ।
सरकारी सेवामा तीन दशकभन्दा बढी खटिएका उनले अतिरिक्त सचिवबाट अवकाश पाएका थिए । उनले सरकारी सेवामा रहँदा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको सुरुआत गरेका थिए । अहिले ख्याति कमाएका वन उपभोक्ता समूह र आमा समूहका परिकल्पनाकार श्रेष्ठ विकेन्द्रीकरणका पैरवीकर्ताका रूपमा पनि चिनिन्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।