काठमाडौँ– उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगलागीबाट क्षति पुगेको खानेपानी मन्त्रालयको अनुगमन गरेका छन् ।
आगलागीबाट छानाको भाग र विद्युतीय सञ्जाल लगायतमा क्षति पुगेपछि शहरी विकासमन्त्री सिंह नेतृत्वमा मन्त्रालयबाट स्थलगत अवलोकन भएको हो ।
क्षतिको विवरण सुरक्षा निकायबाट लिँदै उनले सिंहदरबार परिसरको व्यवस्थापन यस मन्त्रालयको भएको कारण उक्त मन्त्रालय पूर्ववत सञ्चालन गरी सेवा प्रवाह नियमित गर्न तत्काल मर्मत सम्भार कार्य गर्न निर्देशन समेत दिएका थिए ।
मन्त्री सिंहको निर्देशनपछि शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैबाट मर्मत कार्य शुरू गरेको निमित्त सचिव पद्म कुमार मैनालीले जानकारी दिए ।
साथै उक्त घटनाको क्षति मूल्याङ्कन सहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समिति समेत गठन गरिएको छ ।
खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको थियो।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।
उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ। यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन। आगलागीको कारण पनि यकिन भएको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।