धरान – २५ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि खेल धरान रंगशालामा दिउँसो साढे २ बजे शुरु हुनेछ । ए डिभिजन क्लब एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । यस सिजनमा चर्च ब्वाइज र एनआरटी क्लबले तीनवटा फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरेका छन् ।
एनआरटीले यसअघि काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर केएफटिसी झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गरेको थियो । यस्तै चर्च ब्वाइजले चार पटकको उपाधि विजेता नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । विजेताले दश लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।