काठमाडौँ – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटना हुँदा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ जना घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्दपी यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।