सुर्खेत – कालीकोटमा मिनी ट्रक दुर्घटना हुँदा एक जना व्यवसायीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी नरहरिनाथ–५ रुप्सा घर भएका गाडी साहु ४५ वर्षीय गंग देउवाको मृत्यु भएको हो । लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताए ।
राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतको भनाइ छ । उनकाअनुसार गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ । चालक भने हाम फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।