काठमाडौँ – उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा बुधबार राती भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।
कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार राती १ देखि २ बजेका बीचमा घटना भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।
मेला भइरहेको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य सरकारका तर्फबाट मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भागदौडमा आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घटनाबारे छानबिन गर्न न्यायाधीश हर्ष कुमारको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।