काठमाडौं – देशभर सामान्यतया तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ भने पहाडका केहि क्षेत्रमा सामान्यतया मौसम बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । बिहान काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ भने दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान गरिएको उनले जानकारी दिए ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।