एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्।
इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए।
‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने।
‘तपाईं शायद १५ लाख मानिसको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दीयौँदेखि यो स्थानमा धेरै संघर्षहरू थिए। सायद त्यहाँ केही हुनुपर्छ।’
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसंख्यामध्ये अधिकांश विस्थापित भएका छन्। ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका छन्।
‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्,’ राष्ट्रपति ट्रम्पले भने, ‘त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून्।’
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबिच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको वेला शनिबार ट्रम्पको उक्त भनाइ आएको हो।
इजरायललाई ‘अटुट समर्थन’ गर्ने ट्रम्प प्रशासनको आश्वासन
ट्रम्प प्रशासनले इजरायललाई ‘अटुट समर्थन’ गर्ने वचन दिएको छ। तर, मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउन्डबराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन्।
‘हामीले त्यसलाई छोडिदियौँ। हामीले त्यसलाई आज पठाएका छौँ,’ ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विस्फाेटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने, ‘उनीहरूले त्यसका लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।