काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरूपमा उद्घाटन गरेका छन्।
कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने तय भए पनि ओलीले स्वास्थ्य प्रतिकूलताका कारण बालुवाटारबाट सम्बोधनसहित यी दुई भवनको भर्चुअलरूपमा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित थिए।
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष उपस्थित हुन असमर्थ भएको बताए।
प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न उनको आग्रह थियो।
पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।