काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ।
आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ।
सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुसहितका कार्यक्रम उद्घाटन गर्न ओली रुपन्देही जाने कार्यक्रम तय भएको थियो। तर विशेष कारण वश ओलीले भर्चुअल रूपमै काठमाडौँबाटै उद्घाटन गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ। अब ओलीले काठमाडौँबाटै इलेक्ट्रोनिक प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन्।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग भने छिचोल्ने काम सकिएको छ।
यस्तै प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाए पनि उपप्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य भने उक्त कार्यक्रममा भौतिक रूपमा उपस्थित हुने बताइएको छ।
हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ। बाँकी कामलाई गति दिएर अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य आयोजनाले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।