एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ।
सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन्।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेकै दिन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए।
उनले कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए। यसविरुद्ध अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो।
विशेष गरी अमेरिकामा जन्मेको आधारमा नागरिकता पाउने प्रावधान अन्त्य भएपछि अमेरिकामा जन्मिने आप्रवासी वा त्यहाँ भिसामा गएका मान्छेका सन्तानको हैसियत के हुन्छ भनेर पनि प्रश्न उठिराछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।