पाल्पा – राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छिचोल्ने भएको छ।
प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको हो।
सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ। जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो। बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन्।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताए। यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ।
आयोजनाकी सूचना अधिकारी सबिता ज्ञवालीका अनुसार आयोजनमा विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई पनि गति दिइने छ। यस्तै सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने आयोजनाले जनाएको छ।
सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो।
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो। वि.स. २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो।
निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ।
हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ। बाँकी कामलाई गति दिएर अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य आयोजनाले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।