काठमाडौं– नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधि उपचार वापतको रकम कटौती नहुने प्रहरी हेडक्वाटरले जनाएको छ।
प्रहरी हेडक्वाटरको प्रशासन विभागका डीआईजी सुशीलसिंह राठौरले औषधि उपचार वापतको रकम कटौती गर्ने विषयमा सत्यता नरहेको बताए।
पछिल्लो केही दिनयता नेपाल प्रहरीका कर्मचारीले पाउँदै आएको औषधि उपचारको रकम कटौती हुने भन्ने गुनासो आउनेदेखि केहीले भने त्यसैलाई कारण देखाउँदै राजीनामा समेत दिने गरेका थिए।
प्रहरी कर्मचारीमा गुनासो आएपछि आन्तरिक सुर्कलर गरेर रकम नकाटिने समेत प्रहरी हेडक्वाटरले उल्लेख गरेको छ। ८ माघमा प्रशासन विभागले रकम नकाटिने भन्दै जानकारी गर्ने/गराउने सम्बन्धमा भन्दै एक सूचना समेत आन्तरिक रुपमा सम्प्रेषण गरेको छ।
डीआईजी राठौले हस्ताक्षर गरेको उक्त सूचनामा लेखिएको छ, ‘प्रहरी नियमावली २०७१ बमोजिम प्रहरी कर्मचारीलाई औषधि उपचार लगायत विभिन्न सेवा, सुविधाको व्यवस्था अवगत नै छ। उक्त सुविधाहरु कटौती हुने भन्ने हल्लामा सत्यता छैन।’
प्रहरी नियमावली २०७१ को दफा १४१ मा औषधि उपचार खर्चबारे उल्लेख गरिएको छ। १४१ को उपदफा (१) मा ‘प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राकिंत श्रेणीको प्रहरीले अधिकृत भए १२ महिना बराबरको, राजपत्र अनंकित प्रथम श्रेणीको भए १८ महिना र अन्य राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी भए २१ महिना बराबरको खाइपाइ आएको तलब रकमसम्म उपचार खर्च पाउनेछन्’, उल्लेख छ।
यस्तै संसदमा पेस हुन लागिएको विधेयकमा समेत औषधि उपचार वापतको उक्त सुविधालाई यथावत राखिएको छ। प्रस्तावित ऐनको दफा ५२ मा औषधि उपचार वापतको सुविधा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।