एजेन्सी– चीनले आफ्नो देशका सामानमा शुल्क लगाउने अमेरिकाको चेतावनीले कसैलाई पनि फाइदा नहुने प्रतिक्रिया दिएको छ।
सोमबार मात्रै लिएर कार्यकाल शुभारम्भ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा तत्कालका लागि १० प्रतिशत शुल्क लगाउने र भविष्यमा शतप्रतिशतसम्म पुर्याउनसक्ने बताएका थिए।
विशेषगरी चिनियाँ विद्युतीय गाडी र विद्युतीय सामग्रीले अमेरिकी उत्पादन छायाँमा परेकाले शुल्क लगाउने ट्रम्पको भनाइ थियो।
तर चिनियाँ विदेश मन्त्रालयले भने शुल्क लगाउँदैमा वा बढाउँदैमा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा कसैको जीत नहुने बताएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यदि अमेरिकाले शुल्क लगाएमा चीनले पनि आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कदम चाल्ने बताएका छन्।
‘हामीले सधैं विश्वास गरेका छौं कि व्यापार युद्ध वा ट्यारिफ युद्धमा कुनै पनि विजेता हुँदैनन्’, प्रवक्ता निङले भनेका छन्।
चीनले लागूऔषधको तस्करी रोक्न नसकेको भन्दै ट्रम्प आक्रोशित भएका छन्। चिनियाँ सामानमा थप शुल्क आउँदो फेब्रुअरी १ तारिखदेखि लागू हुने सम्भावना छ। ट्रम्पले क्यानडा र मेक्सिकोका साथै युरोपेली देशहरूमा पनि आयात कर लगाउने धम्की दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।