काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाँच महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ। गत १२ भदौदेखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम सोमबारदेखि पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त निर्देशक डा घनश्याम गुरुङले जानकारी दिए।
डा गुरुङका अनुसार गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम आंशिक रूपमा स्थगित गरिएकोमा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको उनले बताए बताए।
अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो।त्रिवि शिक्षण अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।
नयाँ प्याकेज स्थगित भएको र रोकिएको केही रकम छिट्टै उपलब्ध गराउने आश्वासनपछि बिमा कार्यक्रम अस्पतालले पुनः सञ्चालनमा ल्याएको हो। डा गुरुङका अनुसार अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट करिब ६९ करोड रकम लिन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।