काठमाडौं– केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन्। जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ।
अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ। हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन्। तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ।
लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन्। आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ। ‘आगो निभाउन खटिएको टोलीलाई कठिन भइरहेको छ,’ उनले भनेकी छन्।
डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ। मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि बाटो खुलाउन डोजर प्रयोग गरिएको छ। केही ठाउँमा सवारी साधनको जाम लागेको छ। त्यसैले मानिसहरुलाई त्यो ठाउँ छाड्न पनि कठिन भइरहेको छ।
स्थानीय समय अनुसार मंगलबार बिहान साढे १० बजेदेखि लसएन्जलसको प्यासिफिक प्यालिसेड्सबाट डढेलो सुरु भएको थियो। सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक भएको बताइएको छ। लसएन्जलसका अधिकांश क्षेत्रमा डढेलोको जोखिम रहेको चेतावनी जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।