काठमाडौं – सप्तरी छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ।
गाउँपालिकाले किसानले कृषि कार्यका लागि प्रयोग गर्ने बिजुलीको बिल तिरेर सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।
छिन्नमस्ता गाउँपालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका किसानको कृषि कार्यका लागि सिँचाइ विद्युत् महसुल बेहोर्ने निर्णय भएको हो।
पालिका अन्तर्गतको सम्पूर्ण सिँचाइ मिटर प्रयोगकर्ताले २०८१ पुस मसान्तसम्मको सिँचाइ मिटर विद्युत् महसुल किसान स्वंयले तिरी आ–आफ्नो कृषि मिटर २२ माघसम्म गाउँपालिकामा कागजातसहित दर्ता गराउन पालिकाले भनेको छ।
‘किसानको हितमा ऐतिहासिक निर्णय गर्दै अब कृषिसम्बन्धी विद्युत् बिल पालिकाले बजेट विनियोजन गरी बेहोर्ने भएको छ। यस निर्णयले किसानको आर्थिक भार घटाउने मात्र होइन, कृषि व्यवसायमा आत्मनिर्भरता र उत्पादनशीलता बढाउन पनि महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएका छौं,’ पालिका अध्यक्ष चौधरीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।