काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको मंगलबारको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउन आदेश गरेको हो।
सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन्। गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र अध्यक्ष घिमिरेलाई आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो।
जवाफ पेस भएपछि ३ पुसमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो भने आज प्रमाण झिकाउने आदेश भएको हो।
अध्यक्ष घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए। घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो।
न्यायपरिषद्ले मुख्य रजिष्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्ति हुँदा मुख्य न्यायाधीशपछिको वरीयतामा र रजिष्ट्रार न्यायाधीश नियुक्त हुँदा एउटै पदमा हुँदा न्यायाधीशमा गएका भन्दा अगाडिको वरीयता हुने व्यवस्था गरेपछि बारले संवैधानिक प्रश्न उठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।