बुटवल– भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ।
कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो।
आइतबारदेखि नयाँ उडानका लागि अनुमित नमागेको गौतम बुद्ध विमानस्थलले जनाएको छ। विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतका अनुसार उसले नोभेम्बर ३० सम्मका लागि मात्र अनुमति माग गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाले मङ्सिर १६ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको छैन।
अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ। यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन्। हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।