काठमाडौं– धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने भएका छन्।
यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो। अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो। प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिंदै शुल्क पनि स्वीकृत गरेको हो।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।