मोरङ– मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ।
जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो।
यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन्। उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन्। सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्।
उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ। अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ। सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ। १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।