काठमाडौं– एअर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना हल्ला मात्रै भएको पाइएको छ। नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको हो।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विमानमा कुनै प्रकारको शंकास्पद वस्तु फेला परेको छैन।
सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो।
६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन।
पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ। यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए।
यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन। यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।