काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागितामा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उनलाई अभिनन्द गरेको हो।
उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायका साथै पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।
वैज्ञानिक विङडिङले चार सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेख लेखेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उनको योगदान अतुलनीय रहेको बताए। पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङडिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उनले भने।
पर्यटनमन्त्री पाण्डेले नेपाल र चीनबीच पुरानो सुमधुर सम्बन्ध रहेको बताउँदै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा आएको अभिलेख र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको अभिलेखसमेत रहेको जानकारी दिए।
सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई आवश्यक सहयोग गरिदिनसमेत उनले अनुरोध गरे। मन्त्री पाण्डेले सहभागी सबैलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले यहाँ घुम्न आउन अनुरोध गरेका छन्।
अभिनन्द कार्यक्रममा चीनका वैज्ञानिक विङडिङले नेपालीमा प्राप्त भएको सम्मान सदैव स्मरण गर्ने बताउदै उनले उनीहरुलाई आफूसँग जोडिन पनि आग्रह गरेका छन्। प्राध्यापक विङडिङको मातहतमा एक सय १४ नेपाली विद्यार्थीले विद्यावारिधि गरिरहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।