ताप्लेजुङ – ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ।
जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।
फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ । उनि भन्छन्, “तमोर करिडोर सडक आलोङचुङ्गोला हँुदै टिप्ताला नाका जोडिएको छ। अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ।”
सिङ्जेमा ताल फक्ताङ्लुङ –७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ। यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन। प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन्। तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ।
सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन्। स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एक जना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उनि सम्पन्न भएको थिए।
यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ। यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ। तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ। सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।