काठमाडौं– हवाइ भाडा घटेको छ। न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ। घटेको हवाइ भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
पोखराबाट भद्रपुरको भाडा २ सय रुपैयाँले घटेको छ। विराटनगर भैरहवाको भाडा १९५ रुपैयाँले घटेको छ। पोखरा विराटनगर १७५ रुपैयाँले घट्दा काठमाडौं धनगढी २२० रुपैयाँले घटेको छ।
आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।