पोखरा– मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ। माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रबार निगालो घारीमा मानव अवशेष फेला पारेका हुन्।
४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।
‘मर्दी हिमालको बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा मानव लासको अवशेष भेटिएको हो,’ उनले भने।
उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए। टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।