काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका विभिन्न करहरु हटाउन सरकार लागिपरेको बताएका छन्।
शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाइएको बताए।
उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाडौं उपत्यकासँग जोडिएको महाभारतको श्रृंखलामा सरकारको तर्फबाट सरकारले पूर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको बताए।
‘हाम्रो हवाई तथा भूयातायात सहज छैन पर्यटकहरुका लागि, त्यसैले यो पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ। साथै, जनकपुर, पशुपति, लुम्बिनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ,’ मन्त्री तामाङले भने।
विगतमा विभिन्न कमी भएको र गर्नुपर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी वर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागिपर्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।