काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तब्य खोजिने कार्य भैरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५औं वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले अहिले बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ इकोहिल स्टेसनको नयाँ अवधारणा अघि बढाइएको बताए।
इकोहिल स्टेसनका लागि पूर्वाधार बनाउन सरकारको दायित्व रहेको र यसमा लगानी गर्ने अवसर निजी उद्यमी व्यवसायीहरुलाई अवसर प्राप्त हुने मन्त्री तामाङको भनाइ छ।
५०औँ वर्षदेखि विश्व पर्यटन बजारमा उस्तै पर्यटकीय उपजहरु बजारमा रहेको भन्दै मन्त्री तामाङले अब केही नवीन उपजहरु लिएर विश्व बजारमा नेपाल पुग्नुपर्ने धारणा राखे।
नेपाल पर्यटन क्षेत्रमा अथाह सम्भावना र उत्कृष्ट गन्तव्य रहे पनि हवाइ र भूमार्ग सहज नहुनु, नेपाल आएका विदेशी पाहुनाको यहाँको आन्तरिक यातायात पनि कठिन र असहज देखिनु, साथै पर्यटकीय गन्तव्य पनि पचासौँ वर्षदेखि निश्चित ठाँउ मात्र रहेको र नयाँ गन्तव्य खोजी हुन नसक्नुले अपेक्षाकृत यो क्षेत्रमा सफलता पाउन नसकिएको उनको भनाइ छ।
यी चूनौतीहरु समाधान गर्न मन्त्रालयका तर्फबाट नीति निर्माण, बजेट व्यवस्थापन गर्ने कार्यमा मन्त्रालय लागिरहेको उनले जानकारी दिए।
भिसा, अध्यागमन, विनास्थल र नाकाहरु चुस्त दुरुस्त बनाई पर्यटक मैत्री बनाउनु पर्ने , पर्यटन विधेयक अघि बढिरहेको, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउने, युरोपेली आकाशमा नेपाली जहाजहरुमाथिको प्रतिबन्ध हटाउन सरकार लागि रहेको मन्त्री तामाङले बताए।
यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे। सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ।
काठमाडौंमा दुई दिनसम्म चलेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ।
बिहीबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।