काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठे बस्तीहरुमा होमस्टे(घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन्।
हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बार्षिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा बोल्दै उनले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरुमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने उल्लेख गरे।
विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अर्ग्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले होमस्टेलाई व्यावस्थित तथा प्रभावकारी र उदेश्यमुलक बनाएर सन्चालन गर्नुपर्नेमा जोड दिए।
शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने कुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको भन्दै उनले अब हाँडिगाउँमा मात्रै सीमित नराखी शहरका अन्य कुनामा पनि होमस्टे सन्चालन गरी त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राखे।
उनले भने, ‘काठमाडौंको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो। अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरुमा होमस्टे सञ्चालन गरि पुरानो जीवनशैलीमा आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।