काठमाडौं– राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन्।
सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्। उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए।
उनीहरुले सांसदहरुका आफ्ना–आफ्ना चाहनाअनुसार बजेट माग गरे पनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको बताए। परम्परावादी बजेटलाई ब्रेक गरेर अघि बढेमात्रै शिक्षा क्षेत्रमा परिवर्तन गर्न सम्भव रहेको बताए।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताए। उनले पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गरे। उनले निजी, सरकारी विद्यालयहरुको पाठ्यक्रम एउटै बनाउन आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले अहिले नयाँ आउने आवमा शिक्षामा बजेट कति छुट्याउँछौं, कनिका छरेको जस्तै चारतिर बजेट छरेर हुँदैन, अपेक्षा त छन्, चारैतिर। जनताले विश्वास गरेर आएका प्रतिनिधिको अपेक्षा त हुन्छ, तर देश बनाउन कुनै न कुनै ठाउँ छानेर प्राथमिकता दिनुपर्छ। एउटा कृषि र अर्को शिक्षा हो। पुरानो र परम्परावादी बजेटबाट त केही हुँदैन, त्यसलाई ब्रेक गर्ने ठाउँ छ की छैन। एउटै पाठ्यक्रम बनाउनसक्ने स्थितिमा आउँछौं की आउँदैनौं। यसले मात्रै दिशा सोझ्याउन सक्छौँ, यो बाहेक सबै स्टन्टबाजी हुन्छन्। पाठ्यक्रम एउटै बनाउन आवश्यक छ।’
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताइन्। उनले बालविकास केन्द्रलाई अझै व्यवस्थित बनाइ शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘शिक्षा विकासका मेरुदण्ड हो। त्यसकारणले यसलाई पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्छ। साथै शिक्षालाई माथि उठाउनुपर्छ, बालबालिकाहरु धेरै कुरासँग गाँसिन्छ, दिमागको विकास भनेको धेरै कुरासँग गाँसिन्छ। हामीले बालविकास केन्द्र ठाउँ ठाउँमा राखेका छौं, त्यसबाट नै हामीले शिक्षालाई अघि बढाउनुपर्छ।’
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले बाल विकासका शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गरिन्। उनले बालबालिकाहरुको स्याहार गरेर बस्ने शिक्षक शिक्षिकाहरुको पारिश्रमीक पनि बढाउन आवश्यक रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘बालशिक्षामा अलिकति त कुरा उठ्यो। बालशिक्षा सहयोगीको कुरा। आज हामी एक हप्ता घरमा बच्चा राख्दा हाम्रो बच्चा हामी सुरक्षित गर्न नसक्ने, हाम्रो बच्चाले दिशापिसाव गर्नेकुराको स्याहार गरेर बालविकास सहयोगीले हुर्काइदिने, त्यति मेहनत गरेको बाल सहयोगी आजसम्म स्यालरीको विभेद छ। उसले गरेको मेहनतअनुसारको स्थायी हुनुपर्छ। यो सर्वोत्तम हितमा हुन्छ। बाल शिक्षकलाई स्थायी गर्नुपर्छ।’
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले शिक्षा कुनैपनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राखे। उनले बजेट राखेर मात्रै नहुने भन्दै उहाँले कार्यान्वयनमा पनि जोड दिन सुझाव दिए।
उनले भने, ‘शिक्षा भन्नेकुरा कुनैपनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शिक्षामा हामीले विशेष जोड दिनुपर्छ। शिक्षामा बजेट धेरै राख्नुपर्छ। तर बजेट मात्रै राखेर हुँदैन। हामीले विगत हेर्ने हो भनेपनि अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं। गुणस्तरीय शिक्षा, सामुदायिक शिक्षा र निजी शिक्षा, विद्यालयहरुबीचको अन्तर सम्बन्ध र स्तरहरु फरक भएका कारणले गर्दा हामी नै सामुदायिक विद्यालयमा नपढाइकन निजी विद्यालयमा पढाउन लैजान्छौं। हामी शिक्षा नीति तय गर्ने अधिकारीहरु नै आफ्ना बच्चालाई सकेसम्म सामुदायिक विद्यालयमा पठाउँदैनौं, त्यसको पछिको कारण गुणस्तरीय नभएको कारण नै हो।’
उनले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा नभएकै कारण निजी विद्यालयहरुमा विद्यार्थीहरुको भीड लाग्ने गरेको भन्दै सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।