काठमाडौं– नेपाल राष्ट्र बैंकले सन् २०२२ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले विश्व अर्थतन्त्र सन् २०२३ मा ३.० प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको बताएको छ।
कोभिड महामारी, भू–राजनीतिक तनाब र मुद्रास्फीति नियन्त्रणका लागि अवलम्बन गरिएको कसिलो मौद्रिक नीतिका कारण विश्व अर्थतन्त्र शिथिल बनेको बैंकको भनाइ छ।
यस्तै, सन् २०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा १.५ प्रतिशतमा सीमित हुने अनुमान छ। सन् २०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ४.० प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको बैंकले जनाएको छ।
सन् २०२२ मा ५.१ प्रतिशतले विस्तार भएको विश्व व्यापार आयतन सन् २०२३ मा ०.९ प्रतिशतले र सन् २०२४ मा ३.५ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ।
विकसित एवम् उदीयमान मुलुकहरुका केन्द्रीय बैंकले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको कार्यदिशाका कारण मुद्रास्फीति घट्ने क्रममा रहेको छ। फलस्वरुप कोभिड महामारी र अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण विश्वव्यापी रुपमा उच्च रहेको मुद्रास्फीति क्रमशः कम हुँदै जान थालेको छ। सन् २०२२ मा विश्वको औसत उपभोक्ता मुद्रास्फीति ८.७ प्रतिशत रहेकोमा सन् २०२३ मा ६.९ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत रहने कोषको प्रक्षेपण रहेको बैंकको भनाइ छ।
सन् २०२२ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा क्रमशः ४.६ प्रतिशत र ८.५ प्रतिशत तथा सन् २०२४ मा क्रमशः ३.० प्रतिशत र ७.८ प्रतिशत रहने प्रक्षेपण छ। तर, पछिल्लो समय इजरायल–हमासबीच सुरु भएको युद्धका कारण विश्व आपूर्ति प्रणाली थप प्रभावित हुने जोखिम भने बढेको छ।
मुद्रास्फीति नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेको मौद्रिक नीतिको कसिलो कार्यदिशा केही समय अझै कायम रहने देखिन्छ। अमेरिकी फेडरल रिजर्भले सन् २०२३ जुलाईमा फेडरल फण्ड रेट वृद्धि गरी ५.२५–५.५० प्रतिशत पुर्याएकोमा सन् २०२३ सेप्टेम्बरमा पनि सोही नीतिगत दरलाई निरन्तरता दिएको छ।
बैंक अफ इंग्ल्याण्डले पछिल्लो पटक सन्२०२३ अगस्टमा बैंक दर ०.२५ प्रतिशतले वृद्धि गरी ५.२५ प्रतिशत पुर्याएकोमा सन् २०२३ सेप्टेम्बरमा पनि सो दरलाई निरन्तरता दिएको छ। भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि रिपो रेटलाई ६.५० प्रतिशत र स्थायी तरलता सुविधाको ब्याजदरलाई ६.७५ प्रतिशत कायम गरेकोमा सो दरहरुलाई सन् २०२३ अक्टुबरको मौद्रिक नीतिको समीक्षा गर्दा समेत यथावत नै राखेको बैंकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।