काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशन विवादमा परेको छ। यसअघि पनि ३ जना अध्यक्ष बनाएर थामथुप पारिएको एनआरएनएको विवाद अहिले भोटिङपछि पुन: उत्कर्षमा पुगेको छ।
बिहीबार सम्पन्न भएको निर्वाचनपछि सार्वजनिक भएको मतपरिणाम अध्यक्षका प्रतिस्पर्धीहरुले स्वीकार नभएको घोषणा गरेका छन्। उनीहरुले अनलाइन भोटिङ सिस्टममार्फत् मत कब्जा गरेको आरोप अध्यक्षको प्रतिस्पर्धामा विजयी भएका उम्मेदबार बद्री केसीलाई लगाएका छन्। महेशकुमार श्रेष्ठ र आरके शर्माले उक्त मतपरिणाम आफूहरुलाई मान्य नभएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।
मत परिणाम सार्वजनिक भएपछि उनीहरुका सर्मथकहरुले सोल्टी होटलमा नाराबाजी पनि गरेका थिए।
अस्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धीद्वय श्रेष्ठ र शर्माले आरोप लगाएका छन्।
असोज ३० गतेदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार भौतिक उपस्थितिका साथै अनलाइनमार्फत् मतदान भएको थियो। निर्वाचनपछि अध्यक्षका उम्मेदवार बद्री केसी लगायत निर्वाचित भएको घोषणा गरिएको थियो।
‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन,’ श्रेष्ठ र शर्माको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘२० अक्टोबर २०२३ मध्य राति घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको छ।’
‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर’ उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै उनीहरुले यसबाट ‘फल्ट’ रहेको पुष्टि गरेको दाबी गरेका छन्।
भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी हुने उनीहरुको दावी छ। ‘यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन,’ विज्ञप्तिमा भनिएको छ। संघको तर्फबाट भेरोसँग मास्टर कपि माग गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमार्फत् माग गरेका छन्।
श्रेष्ठ र शर्माले अस्वीकार गर्दा के फरक पर्छ?
निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ।
विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई ईमेलमार्फत् प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा १ जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको निर्वाचन समितिको सुचनमा उल्लेख छ।
भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्य–तत्य सार्वजनिक गरिने समितिले जनाएको छ।
अध्यक्षमा दुवै उम्मेदबारले मत परिणाम अस्वीकार गरेकाले अबको प्रक्रिया के हुन्छ भनेर अहिले नै भन्न नसकिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सबै पुरा गरेकाले रद्द नै हुने सम्भावना भने न्यून रहेको निर्वाचन समितिका १ जना सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।