काठमाडौं– सरकारले इजरायलमा भएको आक्रमणमा परेर केही नेपाली हताहत भएको हुनसक्ने बताएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधि सभा बैठकमा इजरायलमा रहेकामध्ये १२ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी दिए।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गेभरको रुपमा कार्यरत रहेको जानकारी दिए। यस्तै, २६५ जना विद्यार्थीहरु इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएको साउदले जानकारी दिए।
मन्त्री सावदका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाल कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययन तथा कार्यरत थिए।
किवुज अलुमिम भन्ने ठाउँ गाजानजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले त्यहाँ केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने परराष्ट्रमन्त्री सावदको भनाइ छ। ‘१७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीइ अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,’ मन्त्री सावदले भने।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना भएको मन्त्री सावदले जानकारी दिए।
उक्त संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका कार्यहरु गर्ने मन्त्री सावदले उल्लेख गरे ।
मन्त्री सावदले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको मन्त्री सावदले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।