काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्यो।
बंगलादेशलाई पराजित गरेसँगै महिला कबड्डीबाट नेपालले पदक जित्ने सम्भावना बढेको छ। नेपाल रहेको समूह ‘बी’मा नेपाल, इरान र बंगलादेश छन्। समूह ‘ए’मा भारत, दक्षिण कोरिया, थाइल्याण्ड र चाइनिज ताइपेई छन्।
७ टिम मात्रै रहेको महिला कबड्डीको सेमिफाइनल पुगे नेपालले पदक जित्नेछ। नेपाल रहेको समूहमा इरान बलियो टिम छ। नेपालले इरानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। इरानसँगको खेल जिते नेपाल सोझै सेमिफाइनल पुग्नेछ। इरानसँगको खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ। त्यसका लागि इरानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ। इरान र बंगलादेशको खेल बुधबार हुनेछ।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमले पनि कास्य पदक जित्ने व्यवस्था छ। जसअनुसार सेमिफाइनलमा पुग्दै नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना देखिएको हो।
एसियाली खेलकुदमा १३३ स्वर्ण जित्दै चीन शीर्ष स्थानमा छ। सोमबार बिहानसम्म चीनले १३३ स्वर्ण, ७२ रतज र ३९ कास्यसहित २४३ पदक जितेको छ। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३० स्वर्ण, ३५ रजत र ६० कास्यसहित १२५ पदक जितेको छ।
तेस्रो स्थानमा रहेको जापानले २९ स्वर्ण, ४१ रजत र ४२ कास्यसहित ११२ पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले १३ स्वर्ण, २१ रजत र १९ कास्यसहित ५३ पदक जितेको छ। नेपाल भने पदकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।