काठमाडौं– ६० किलो बढी सुन तस्करी प्रकरणमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग चिनजान रहेको स्वीकार गरेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लिखित बयान दिएका पुनले दावासँग आफ्नो व्यक्तिगत चिनजान रहेको र फोनमा कुराकानी हुने गरेको स्वीकार गरेका हुन्।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा आधारमा आइतबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पुनको बयान पनि संलग्न गरेको छ।
व्यक्तिगत चिनजान र कहिलेकाँही फोनमा कुराकानी हुने गरेको भए पनि दावासँग आफ्नो कुनै कारोबार नभएको पुनले बयानमा उल्लेख गरेका छन्। दावाकी श्रीमती भनिएको अमला रोक्का आफ्नो गाउँले भएको र शहीद परिवारको सदस्य भएकाले माओवादी केन्द्रमा हुँदा भेटघाट र चिनजान भएको पुनको भनाइ छ। उनले रोक्का पार्टीको रोल्पा–काठमाडौ सम्पर्क मञ्चको कार्यक्रममा आउँदा आफ्नो भेटघाट भएको र चिनजान भएको बताएका छन्।
दावासँग आफ्नो कुनै कारोबार नभएकाले उनले गरेको अपराधिक काम–कारबाहीमा आफ्नो कुनै संलग्नता नभएको पुनले दाबी गरेका छन्। बयानका क्रममा सीआईबीले पुनको मोबाइल खोजेको थियो। तर पुनले भने आफूले मोबाइल परीक्षणका लागि दिएको भन्ने बयान दिएका छन्।
दावा पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा पूर्व उपराष्ट्रपति पुन र उनको परिबारसँग दावाको भेट भएको तस्बिर सार्वजनिक भएको थियो। पूर्व उपराष्ट्रपपतिका छोरा दिपेश दावासँग धेरै ठाउँमा सँगै देखिएको तस्बिरहरु सार्वजनिक भएपछि उनीमाथि छानबिनका लागि सार्वजनिक माग उठेको थियो।
पछि सीआईबीले पुनलाई अनुसन्धानको दायरमा ल्याउँदै सोधपुछ गरेको थियो। तर थप तथ्य र ठोस प्रमाण नभेटिएको भन्दै कागजी बयान मात्र गराएर पुनलाई छाडिएको छ। बयान गरिए पनि पुनलाई प्रतिवादी भने बनाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।