काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को २०७३ मा भएको ११औं महाधिवेशनले नैनसिंह महर सभापति चुनेको थियो। महरले आफ्नो कार्यकाल सकिएपछि २०७५ माघ २ गते राजीनामा दिए। महरले राजीनामा दिएपछि १६ माघ २०७५ मा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन भयो। तदर्थ समितिले पूर्णता नपाउँदै ढुंगाना पार्टी (नेपाली कांग्रेस)को केन्द्रीय सदस्य निर्वाचित भए।
ढुंगानापछि दुजाङ शेर्पा नेविसंघ तदर्थ समितिको सभापति बने। २०७८ फागुन ३ गतेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शेर्पालाई तदर्थ समितिको सभापति बनाउने निर्णय गरेको थियो। तदर्थ समितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने ‘म्यान्डेड’ दिइएको थियो।
तर, शेर्पाले प्राप्त म्यान्डेडअनुसार महाधिवेशन गर्न सकेनन्। बरु सोमबार तदर्थ समितिमा ७१० जना मनोनयन गरिएको विवरण सार्वजनिक भयो। उक्त तदर्थ समिति पनि विधान विपरीत रहेको भन्दै नेविसंघमा विरोध भइरहेको छ।
नेविसंघको विधानमा १ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पछिल्लो समय नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने विषयमा मतभेद थियो। विधानको धारा ५ (५) मा ३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने उल्लेख छ। तर यो व्यवस्था संघको १२औं महाधिवेशनबाट लागू हुने भनिएको छ।
निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन कहिले हुने भन्नेमा अन्योल देखिएको छ। नेविसंघका पूर्व अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले महाधिवेशन हुन बिलम्व भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘महाधिवेशन गर्नै पर्छ। महाधिवेशन हुन्छ। लामो समय बितिसक्यो। सबै साथीहरुलाई समेट्ने गरी तदर्थ समिति आएको छ। केही साथीहरु छुट्नु भएको छ।’
नियमित महाधिवेशन भएको भए सबै साथीहरु समेटिने बताउँदै नेता महरले दुई/दुई वर्षमा हुनुपर्ने महाधिवेशन समयमै नभएका कारण कमिटीको आकार ठूलो भएको बताए।
उनले नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त बनाउनका लागि पार्टीले आन्तरिक होमवर्क गरिरहेको दाबी गरे। तदर्थ समितिको म्याद ६ महिनामा मात्रै हुने भएकाले उक्त अवधि भित्र महाधिवेशन भइसक्ने महरको दाबी छ। ‘कुनै पनि तदर्थ समितिले ६ महिनामा अधिवेशन गरिसक्नुपर्छ। त्यसका लागि पार्टीले पनि कोर्डिनेसन गर्छ। र, महाधिवेशन हुन्छ अनि नयाँ नेतृत्व आउँछ,’ उनले भने।
नेविसंघबाट पार्टीको केन्द्रीय राजनीतिमा उदाएका नेता
नेविसंघको पहिलो महाधिवेशन वि.सं.२०२७ सालबाट विपिन कोइराला सभापतिमा निर्वाचित भएका थिए। तत्पश्चात २०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सभापतिमा सर्वसम्मत निर्वाचित भए। कांग्रेस सभापति देउवा मुलुकको पाँचौं पटक प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन्।
त्यसैगरी २०३६ सालमा भएको नेविसंघको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि सभापतिमा निर्वाचित भएका थिए। निधि कांग्रेस संस्थापक नेता महेन्द्र निधिका सुपुत्र हुन्। पार्टीको १३औं महाधिवेशनमा उपसभापति भइसकेका निधि १४औं महाधिवेशनमा सभापतिका आंकाक्षी थिए।
विसं २०३९ सालमा नेविसंघको तदर्थ समितिको सभापति बनेका पूर्व सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कांग्रेसका प्रभावशाली नेतामध्येमा पर्छन्।
यस्तै, २०४० सालको चौथो महाधिवेशनबाट बलबहादुर केसी नेविसंघको सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। केसी पार्टीको केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका छन्।
केसीपछि २०४४ सालमा नेविसंघको पाँचौ महाधिवेशनबाट बालकृष्ण खाण सभापतिमा निर्वाचित भएका थिए। खाणपछि नेविसंघको २०४८ सालमा भएको छैंटौं महाधिवशेनमा एनपी साउद सभापतिमा निर्वाचित भए।
२०५३ सालमा नेविसंघको तदर्थ समितिको सभापति भएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पार्टीको उपभापति हुँदै हाल कानुन मन्त्रीको जिम्मेवारीमा छन्।
त्यसैगरी २०५३ सालमा भएको नेविसंघको सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई सभापतिमा सर्वसम्मत निर्वाचित भए। हाल उनी पार्टीको केन्द्रीय सदस्य छन्। २०५७ सालको ८औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा नेविसंघको सभापतिमा निर्वाचित भए। उनी अहिले नेपाली कांग्रेसको महामन्त्री छन्।
नेपाल विद्यार्थी संघको नवौँ महधिवेशन २०५९ मा गुरुराज घिमिरे सभापतिमा निर्वाचित भएका थिए। त्यस्तै नेविसंघको १०औँ महाधिवेशन २०६४ मा प्रदीप पौडेल सभापतिमा निर्वाचित भए। उनी पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए।
त्यसैगरी २०७३ सालमा भएको ११औँ महाधिवेशनमा नैनसिंह महर नेविसंघ सभापतिमा निर्वाचित भए। महरले २०७५ माघ २ मा समय सकिएपछि राजीनामा दिएका थिए। त्यसयता नेविसंघको महाधिवेशन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।