लन्डन- ब्रिटिश संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्ड्से होयलले नेपालमा सुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका छन्।
मंगलबार ब्रिटिश संसद्स्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सभामुख होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए। बेलायतमा कार्यरत प्रा सत्येन राजभण्डारीले आफूलाई डा भगवान कोइरालाको बारेमा बताएको र उनलाई आज प्रत्यक्ष भेट्न पाउँदा निकै खुसी लागेको उनले सुनाए।
नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउँदै सभामुख होयलले आफू मधुमेहको बिरामी रहेको र झन्डै तीन वर्ष पहिले एकजना नेपाली चिकित्सक ( प्रा राजभण्डारी) ले आफ्नो ज्यान बचाएको स्मरण पनि गरे।
उक्त अवसरमा एक प्रस्तुति दिँदै चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपालमा गएको केही दशकयता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताए। ‘तर अहिले पनि बाल स्वास्थ्य सेवा राजधानीमा मात्रै सीमित रहेको छ र देशभरी नै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन आवश्यक छ,’ उनले भने।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन डा कोइराला सोमबार बेलायत आइपुगेका हुन्।
डा कोइरालाले पूर्वको दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि सुरु भइसकेको र काठमाडौंको हेपाली हाइटमा सबै नेपालीको पहुँच हुनसक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडि बढिरहेको जानकारी दिए।
‘संयुक्त राष्ट्र संघले पारित गरेको र नेपाललेसमेत अनुमोदन गरेको दिगो विकास लक्ष्यको तेश्रो बुँदामा सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उल्लेख छ। तर नेपालमा एक करोड बढी बालबालिकाका लागि एउटा मात्रै बाल अस्पताल छ। त्यसैले देशभरी नै गुणस्तरीय बाल स्वास्थ्य सेवा पुर्याउन हामीले यो अभियान सुरु गरेका हौं,’ उनले भने।
‘नेपाल जस्तो सीमित साधनश्रोत भएको मुलुकमा सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। हामीले सरकारको कामलाई सघाउन लागेका हौं। त्यसैले यो अभियानलाई, संसारभरीका नेपालीहरु, खास गरी बेलायतमा रहनुभएका गोर्खा दाजुभाइ दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपालीहरुलाई मन खोलेर सहयोग गर्नु हुन म हार्दिक आग्रह गर्दछु,’ उनले थपे।
उक्त समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन डा कोइरालाले सुरु गरेको अभियानको प्रशंसा गरे। उनले नेपाल सरकार, निजी क्षेत्र तथा समुदायको सामूहिक सहयोग परिचालन गरेर अस्पताल सञ्चालन गर्ने यो अभियानलाई सबैले सहयोग गर्न आग्रह गरे।
बेलायतमा दर्ता भएको गैर सरकारी संस्था, हेल्थ एक्सचेन्ज नेपालका संस्थापक प्रा सत्येन राजभण्डारीले आफ्नो संस्थाले नेपालमा महाभूकम्प र कोभिड १९ को बेला पनि सहयोग परिचालन गरेको स्मरण गरे। उनले डा कोइरालाले सुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई सक्दो सहयोग गर्न सबैलाई अपिल पनि गरे।
कियोच युके सहयोग समितिका संयोजक ओजेश सिंहले नेपालको बाल अस्पताल परियोजनाहरुलाई सघाउन यही शनिबार ८ जुलाईमा बेलायतको अल्डरशटमा एक च्यारिटी डिनरको आयोजना गरिएको भन्दै उक्त कार्यक्रममा सहभागी भएर सक्दो सहयोग गर्न अनुरोध गरे।
कार्यक्रममा ब्रिटेन-नेपाल सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद वीरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु, व्यवसायी, उद्यमी तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।