लण्डन– कीर्तिमानी आरोही हरि बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड प्रदान गरिएको छ। सशस्त्र बल दिवस (आर्म्ड फोर्सेस डे) को अवसरमा बुढामगरलाई उक्त अवार्ड प्रदान गरिएको हो।
बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित कार्यक्रममा भेटेरान्स मन्त्री जोनी मर्सरले सो अवार्ड प्रदान गरेका हुन्। सो अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनककी पत्नि अक्षता मूर्ति पनि उपस्थित थिइन्।
अपाङ्गता भएका व्यक्तिहरूको लागि वकालत गर्ने असाधारण सेवाको समान्नमा बुढामगरलाई उक्त अवार्ड प्रदान गरिएको बताइएको छ।
बुढामगरले, ‘पोइन्ट अफ लाइट’ अवार्डद्वारा सम्मानित हुनु गौरवको कुरा भएको बताए। सगरमाथा आरोहण कुनै कीर्तिमान, सम्मान, अवार्ड र पुरस्कारको लागि नभइ समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने प्रयासस्वरुप र सबै मानिसहरूलाई ‘आफ्नो हिमाल चढ्न’ उत्प्रेरणा जगाउन गरिएको बुढामगरले बताए।
बुढामगरले विभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि सहयोग र योगदान दिँदै आएका छन्। उनको पहलमा हालसम्म गोर्खा वेलफेयर ट्रस्टलगायत सशस्त्र बल परोपकारी संस्थाका लागि ११ हजार पाउण्डभन्दा बढी सङ्कलन भएको छ।
बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड असाधारण काम गरेर समुदायमा उल्लेख्य र सकारात्मक परिवर्तन ल्याउन समर्पितहरुलाई प्रदान गर्ने गरिन्छ।
सन् २०१४ बाट सो अवार्ड दिन सुरु गरिएकोमा हालसम्म २ हजार ७१ जना सो अवार्डबाट सम्मानित भएका छन्। जसमा हरि बुढामगर २ हजार ७०औं व्यक्ति भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।