काठमाडाैं–तरकारी फलफुल तथा थोक बजार व्यवसायिक संघ अन्ततः सरकारसँग झुक्न बाध्य भएको छ।
तरकारी फलफुल तथा थोक बजार व्यवसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पत्र लेख्दै आगामी दिनमा कुनै प्रकारको बन्द,हड्ताल नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै संघले विभागका कर्मचारीहरू अनुगमन गर्न आउँदा कालिमाटी तरकारी बजारमा उत्पन्न भएको घटनाप्रति दुःख व्यक्त गर्दै अब यस्तो किसिमको घटना हुन नदिने दाबी गरेको छ।
अबका दिनमा तरकारी बजारमा नेपाल सरकारका विभिन्न अनुगमन गर्ने निकायहरू अाउँदा समन्वय गर्ने र बजारलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने पत्रमा उल्लेख गरिएको छ। त्यसैगरी घटनाको विषयलाई लिएर पक्राउ परेका तरकारी फलफुल तथा थोक बजार व्यवसायिक महासंघका महासचिव भरत खतिवाडाको रिहाई गरिदिन मन्त्रालयलाई अनुरोध गरेको छ।
अनुगमनका क्रममा पक्राउ परेका नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भरत खतिवाडाको रिहाइ भने अझै भएको छैन।
त्यसैगरी संस्थाले एउटा सूचना समेत जारी गर्दै संघर्ष समिति बिघटन गरिएको व्यवसायीलाई जानकारी गराएको छ। सूचनामा भनिएको छ,‘२०७५ भाद्र ०९ गते बसेको कार्यसमिति बैठकले हालको परिश्थितिलाई मध्यनजर गर्दै संघर्ष समिति विघटन गर्ने निर्णय गरेको छ।’


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।