कञ्चनपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने प्रतिबद्धता गरेका छन्। प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याको सम्बन्धमा गहिरो गरी छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको बताए।
शनिबार उक्त हत्याकाण्डको यथोचित छानबिन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरूसँगको सामुहिक भेटमा प्रधानमन्त्री ओलीले छानबिनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कारबाही गर्ने बताए।
भेटमा प्रदेश ७ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवम् नेताहरूले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए। हत्यारालाई छानबिन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनता समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिए।
बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीको गोली लाग्दा शुक्रबार एक जना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन्।
सो घटनाबारे पनि छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गरिएको सांसद रावलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।