काठमाडाैं–कथाकार दिनमान गुर्मछानको पहिलो कथासंग्रह‘दंश’ शनिबार सार्वजनिक भएको छ। प्रा.डा अभि सुवेदी, कथाकार नवीन विभास, समालोचक तथा लेखक बन्दना ढकालले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
कथासंग्रह लोकार्पण पश्चात् प्रा.डा सुवेदीले संग्रहभित्र वास्तविक नेपाली समाजको अनुहार देखिएको बताए। ‘कथाले सबै पक्षलाई छोएको छ। सबै किसिमका स्वाद दिनमानका कथामा भेट्न सकिन्छन्,’ सुवेदीले भने,‘कथाहरू यथार्थपरक छन्, पढ्दै जाँदा नयाँ स्वादहरू फेला पारेको छु।’
पछिल्लो समय प्रयोगको नाममा जटिल कथाहरू आइरहेको बेला कथाकार गुर्मछानले भने फरक शैलीमा सरलीकृत ढंगबाट कथालाई प्रस्तुत गरेकाले यसबाट आफू प्रभावित भएको बताए।
कार्यक्रमका वक्ता एवं कथाकार नवीन विभासले जटिल कुराहरूलाई पनि कथामा सरल भाषामा लेख्न सक्नु कथाकारको खुबी भएको बताए। ‘कथालाई सरल भाषामा लेख्न सक्नु निकै जटिल कुरा हो। तर, कथाकार यसमा सफल देखिएका छन्,’उनले भने,‘ मधेस र त्यहाँका जनताहरूलाई कथाको पात्र र परिवेशको रुपमा चित्रण गरिएको छ। कथा पढ्दै जाँदा मैले उनीहरूको झुपडीमा पुगेको आभास गरेँ।’ कथाकारको पहिलो कथासंग्रह नै सशक्त भएको हुनाले शुभकामना समेत दिए।

त्यसगरी कार्यक्रमको वक्ता लेखक तथा समालोचक बन्दना ढकालले ‘दंश’ भित्रका कथाहरूले नेपाली समाजमा रहेका नारीहरूले भोगका पीडा र वेदनाको चित्रण गरेको बताइन्। ‘ कथामा भएका पात्र नारी र मुस्लिम समुदायका प्रतिनिधि पात्र हुन्,’लेखक ढकालले भनिन्, ‘दंशभित्रका कथाहरूले भर्खरै घटेका समाजका घटनालाई इंगित गरेका छन्।’
पछिल्लो समय नेपाली साहित्यमा कथाको खडेरी भएको बेलामा सशक्त कथा लिएर आउनु खुसीको कुरो भएको पनि बताइन्।
कथाकार दिनमान गुर्मछानले समाजमा लुकेका तथा देखिएर पनि कसैको नजर नगएको यथार्थ कुराहरूलाई कथामार्फत बाहिर प्रस्तुत गरेको बताए।
शाब्दिक बुक्सले प्रकाशन गरेको यस कथासंग्रह भित्र १८ वटा कथाहरू समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।