बेइजिङ- चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ।
उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन्। राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ।
स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ। 'घटनाका कारण बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ' एक अधिकारीले भने।
होटलमा हुने आगलागीका घटना चीनमा बारम्बार हुँदै अाएका छन्। सुरक्षा सतर्कता र मर्मतमा वेवास्ता गरेकाले यस्ता घटना धेरै हुने गरेको बताइएको छ ।
गत अप्रिलमा पनि चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको थियो भने, गत नोभेम्बरमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।