राजविराज– सप्तरी, सिरहा र उदयपुरमा सञ्चालित अधिकांश पशु औषधी पसल दर्ता विनै संचालनमा रहेको पाईएको छ। सप्तरीमा रहेका करिव १ सयमध्ये ७० वटा दर्ताबिनै संचालनमा रहेका छन् । सप्तरी, उदयपुर र सिरहा गरी तीन जिल्लामा संचालित २ सय ६० मध्ये १ सय ९० पशु औषधी पसल अनधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
पशु सेवा ऐन÷नियम र पशु स्वास्थ्य कार्यक्रम कार्यविधि लागू हुनु पुर्व नै सञ्चालनमा आएका पशु औषधी पसलहरू कानुनी झन्झट हुने भएकाले दर्ता नगरी संचालनमा रहेको पाइएको छ। कृषि कार्यालय मार्फत् एग्रोभेट र कीटनाशक आषधि बिक्री÷वितरणका लागि पाएको अनुमति पत्रकै भरमा पशु औषधी बिक्री गरिएको उनीहरूको भनाई छ।
दर्ता नै नगरिएका औषधि पसलहरु सञ्चालन हुँदा सरकारी राजश्वमा कमी आउनुका साथै त्यस्ता औषधीको प्रयोगले पशुचौपायामा नकारात्मक असर पर्ने सम्भावना पनि प्रशस्त रहेको जानकारहरु बताउँछन् । औषधी पसल दर्ता तथा नियमन गर्ने निकाय औषधी व्यवस्था विभागको वेवास्ताका कारण लामो समय बितिसक्दा पनि अनधिकृत औषधी पसल नियमन हुन नसकेको हो।
पशु सेवा ऐन २०५५ र पशु सेवा नियमावली २०५६ पछि सञ्चालनमा आएका भेटनरी पसलहरु भने दर्ता गरेर सञ्चालन भईरहेको नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ, प्रदेश २ का अध्यक्ष रामकृष्ण दास वताउँछन् । ‘१५/१६ वर्षअघिसम्म एसएलसी पास गरेर २ वर्षसम्म त्यस क्षेत्रमा काम गरेको व्यक्तिले औषधी पसल दर्ता गर्न पाउने व्यवस्था थियो’ उनी भन्छन् ‘तर अहिले कानून परिवर्तन भएपछि पनि पुरानै व्यवस्था अनुसार केहीले औषधी पसल संचालन गरिरहेको हुन सक्छ।’
पशु औषधी पसल सञ्चालनका लागि औषधी व्यवथापन विभागको फर्मासिस्टको व्यवस्था वा सो सरहको ३५ दिने तालिमको लिएको हुनुपर्ने नियम बनाएको छ। सोही नियमका कारण पुराना पसल सञ्चालक अप्ठ्यारोमा परेको दासको भनाई छ। ‘सरकारी स्तरवाट दिईने ३५ दिने तालिम दर्तावाला पसल सञ्चालनकका लागि दिईदै आएको छ’ उनी भन्छन् ‘नियम लागू हुनभन्दा अगाडि संचालन भएका पसलमा फर्मासिस्ट रोखिएको छैन, तालिम पनि नपाएपछि दर्ता हुने संभावना पनि सकियो’।
पुरानो व्यवस्था अनुसार सञ्चालनमा रहेका त्यस्ता औषधी पसल दर्ता गरी नियमन गर्न सरकारले नै निश्चित अवधि तोकेर आवेदन लिनुपर्ने दासको माग छ। ‘लगानी पनि गरेका छन्, सेवा पनि दिँदैछन्’ उनी भन्छन् ‘औषधी ब्यवसायीको सिफारिसमा त्यस्ता पसललाई नियमन गर्न सरकारले एक पटक अवसर दिनु नै उत्तम हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।